अग्नि परीक्षामा अग्निः जनयुद्धका कमाण्डरलाई संसदको सर्वोच्च पद

सभामुखमा सापकोटाको संशयपूर्ण प्रवेश

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका छन्। सभामुख पदमा सापकोटाको मात्र उम्मेदवारी परेकाले आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तीन दशकसम्म शिक्षण पेशा अंगालेका व्यक्ति सभामुखमा निर्वाचित भएकाले संसद राम्ररी चलाउन सक्ने बताए। ‘सांसद हुने योग्यता नै सभामुख हुने योग्यता हो। त्यसमाथि तीन दशक शिक्षक भएर आउनुभयो। तीन पटक जनताबाट निर्वाचित भएर आउनुभयो। २ पटक मन्त्री हुनुभएको छ, उहाँले संसद राम्रोसँग चलाउनुहुन्छ’ नेता खनालले नेपाली पत्रिकासँग भने।

सापकोटा गणतन्त्र आइसकेपछि सूचना तथा सञ्चार र वन तथा भू–संरक्षण मन्त्रीको रूपमा सरकारमा सहभागी भइसकेका अनुभवी राजनीतिज्ञ हुन्। उनी ०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता तथा तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका छोरा अग्निप्रसादको जन्म सिन्धुपाल्चोक जिल्लाको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते भएको हो। उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। हाल उनको परिवारमा श्रीमतीसहित तीन छोरा छन्। उनी यसअघि सिन्धुपाल्चोक क्षेत्र नं २ बाट संविधानसभामा दुई पटकसम्म भारी मतान्तरका साथ विजयी भएका थिए। ०३५ सालबाट कम्युनिष्ट राजनीतिमा लागेका सापकोटाले पटक–पटक भूमिगत र जेल जीवनसमेत बिताएका छन्।

२०४८ सालमा संयुक्त जनमोर्चाबाट संसदीय निर्वाचनमा उम्मेदवार बनेका बेला उनी पराजित भएका थिए। ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य चयन भएका सोपकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत भएका थिए। त्यसपछि २०५२ सालबाट जनयुद्ध शुरू भएपछि भूमिगत भएका थिए।

प्रधानाध्यापकदेखि सभामुखसम्म

२०५२ साल फागुन १ गतेदेखि माओवादीले शुरू गरेको सशस्त्र द्वन्द्वमा सक्रिय सहभागी हुनुअघि अग्निप्रसाद सापकोटा साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिए।

उनीसँग १५ वर्षसम्म शिक्षण गरेको अनुभव छ। सापकोटा शिक्षक राजनीतिमा पनि उत्तिकै सक्रिय थिए। विद्रोही स्वभावका कारण उनी उक्त क्षेत्रका धेरै मानिसहरूमाझ परिचित थिए। द्वन्द्वकालमा प्रधानाध्यापक छोडेर पूर्णकालीन राजनीतिमा होमिएका उनै सापकोटा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुखजस्तो गरिमामय पदमा निर्वाचित भएका छन्।

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि गत असोज १४ गते पदबाट राजीनामा दएपछि रिक्त भएको थियो। हाल महरा डिल्लीबजारस्थित चारखाल कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

कसरी बन्न पुगे प्रचण्डका विश्वासपात्र ?

जनयुद्धमा तत्कालीन नेकपा (माओवादी)को ताम्सालिङ राज्यको नेतृत्वमा रहेका सापकोटा नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन्। जनयुद्धदेखि शान्ति वार्तासम्म सापकोटा दाहालसँग निकट थिए।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन्। उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि विचाराधीन छ। संवैधानिक इजलासमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा अनुसन्धान माग गर्दै दायर भएको मुद्दा केही वर्षदेखि विचाराधीन छ।

के होला २०६८ देखिको विचाराधीन मुद्दा ?

सापकोटासहितका नेताविरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन भएको लामो समय बितिसकेको छ। वि। सं। २०६८ असार ६ गते सापकोटासहितका नेताविरुद्धको मुद्दाले सर्वोच्चमा प्रवेश पाएको हो।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै

संवैधानिक इजलासमा अन्तिम सुनुवाइ चलिरहेको समय भएकाले सापकोटाविरुद्धको मुद्दामा यसै हुन्छ भनी ठोकुवा गर्न सकिने अवस्था नरहेको कानुनका जानकारहरू बताउँछन्। ८ वर्षभन्दा बढी समय बितिसके पनि यो मुद्दाको अन्तिम किनारा भने लाग्न सकेको छैन। तत्कालीन समयमा सापकोटा सूचना तथा सञ्चारमन्त्री थिए।

व्यक्ति हत्याको आरोप लागेको व्यक्ति सूचना तथा सञ्चारमन्त्री हुन नसक्ने जिकिर गर्दै कनकमणि दीक्षितसहितले अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा सर्वोच्चले २०७० असार १९ गते फाइल मगाउने आदेश दिएको थियो। मुद्धा विचाराधीन रहेकै समयमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते अर्को मुद्दा दायर गरिन्।

काभ्रे जिल्ला प्रहरी कार्यालयमा विचाराधीन किटानी जाहेरीमा अनुसन्धान नभएको भन्दै उनले त्यसका लागि आदेश हुनुपर्ने माग गरेकी थिइन्। सापकोटासहित अन्यलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नु भन्ने माग उनले रिटमा गरेकी थिइन्।

उनको निवेदनपछि सापकोटामाथि सुशील प्याकुरेलसहित ८ जनाले अर्को मुद्दा थपे। २०७२ चैत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाउँदै उनीहरूले मुद्दा दायर गरेका थिए।

सापकोटाविरुद्ध ३ थान रिट पुगेपछि २०७२ वैशाख ८ गते सर्वोच्चले काभ्रे प्रहरीमा रहेको जाहेरीमा भइरहेको प्रगति विवरण पेश गर्न आदेश गर्यो। त्यसैगरी, २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा पठायो।

२०७२ सालमा संवैधानिक इजलासमा पुगेको सापकोटाको सो मुद्दामा संवैधानिक इजलासले २०७६ असार २५ गते सत्य निरुपण तथा मेलमिलाप आयोगबाट द्वन्द्वकालीन मुद्दा भएको भन्दै फाइल मगाउने आदेश गरेको थियो। यो मुद्दाको सुनुवाइ यसअघि नै १२ पटक सरिसकेको थियो।

सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतका नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेत ८ जनाले दायर गरेको निवेदन प्रधानन्यायाधीशसहित ५ न्यायाधीश हुने संवैधानिक इजलासमा विचाराधीन छ।

तत्कालीन नेकपा माओवादीका प्रवक्तासमेत रहेका तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सापकोटा ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटा विरुद्धको पहिलो अवहेलना मुद्दा थियो। २०६९ मंसिर ११ गते न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५–१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो।

न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले प्रत्येक १५ १५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो।

सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ। सर्वोच्चले लामा हत्यामा सापकोटा संलग्न भएरनभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो। तर, जिल्ला प्रहरी कार्यालयले एकरएक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ।

अपहरणमा परेको एक महिनापछि असार दोस्रो साता गाडेको अवस्थामा लामाको शव फेला परेका थियो। लामाकी श्रीमती पूर्णिमायाले सापकोटा र दोङसहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

हालसम्म प्रहरीले गरेको अनुसन्धान अनुसार अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरूसँगको बकपत्र लिने काम भएको विवरण सर्वोच्चलाई उपलब्ध गराएको छ। शिक्षकहरू शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र लिने काम भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ।

लाग्ला त किनारा ?

पुस २५ गते संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ हुने पेसी एक साता अघि नै तय भएको थियो। सापकोटाको मुद्दा अन्तिम किनारा लगाउन सुनुवाइ भइरहेकै बेला संघीय संसदको सभामुखमा निर्वाचित भइसकेका छन्। पुस २५ गतेको पेसी एकाएक स्थगित भएको सूचना आयो। अदालतबाटै मुद्दा स्थगित भएपछि अर्को सुनुवाइ माघ २२ गतेका लागि तोकिएको छ।

समयरेखामा सापकोटा

जन्म मिति र स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यताः स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेशा र अनुभवः
१५ वर्ष अध्यापन (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता
२०३५ सालमा नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः
स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)।
२०६४ – चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेदवार। संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील।
२०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री
२०७० – सिन्धुपाल्चोक २ बाट दोस्रोपटक संविधान सभा सदस्यमा निर्वाचित, तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।
२०७३ – नेपाल सरकारका वन तथा भू–संरक्षण मन्त्री
२०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी
२०७६ – सभामुख, प्रतिनिधि सभा

संक्षिप्त राजनीतिक जीवन
२०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,
२०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)
२०३७ – शिक्षक संघर्ष समितिको सदस्य (ने।रा।शि।सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने।रा।शि।सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,
२०४८ – शिक्षकबाट राजीनामा, पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य
२०५१ – नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,
२०५२ – फागुनबाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित
२०५८ – पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी
२०६२ – चैत १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाउँमा लागि गम्भीर घाइते
२०६२ र ०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनता परिचालनको नेतृत्व
२०६९ – माघमा भएको एकीकृत नेकपा (माओवादी) को हटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य
२०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
२०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य
२०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
२०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य