बास्केटबलका महान् खेलाडीसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं। अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो।

४१ वर्षीय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो। लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ। पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ। एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकोप्टर खसेको थियो। एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

लस एन्जलिस लेकर्सबाट २० वर्ष बास्केटबेल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए। सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए। उनी दुई पटक एनबीएमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनेका थिए भने दुईपटक ओलम्पिक च्याम्पियन बनेका थिए।

सन् २००६ मा उनले टोरोन्टो र्याप्टर्सविरुद्ध उनले ८१ अंक स्कोर गरेका थिए। एनबीएको इतिहासमा एकै खेलामा गरिएको दोस्रो ठूलो स्कोर थियो। सन् २०१८ मा डियर बास्केटबल नामक सर्ट फिल्मका लागि ओस्कार पनि जितेका थिए। सन् २०१५ मा उनले आफ्नो प्रिय खेलका लागि लेखेको प्रेम पत्रका आधारमा उक्त ५ मिनेटको चलचित्र बनाइएको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाललाई मलेसियाले दियो ११० रनको लक्ष्य

ब्रयान्ट र उनकी पत्नी भेनेसाका अन्य तीन छोरी नटालिया, बियान्का र क्याप्री रहेका छन्। यतिबेला ब्रायन्टको श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा, उसेन बोल्ट, र्यापर कान्ये वेस्टलगायतले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। एजेन्सी