गोसाइँकुण्ड जाने क्रममा बेपत्ता दुई जनाको शव फेला

रसुवा। गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका दुई जना मृत भेटिएका छन्। गएको माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ हेलम्बुका १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङको शव फेला परेको हो।

गएको पुस २८ गते गोसाइँकुण्ड जान भनेर हिँडेका उनीहरू हिमपात भएपछि माघ ३ गतेसम्म नुवाकोटको घ्याङफेदीको एउटा होटलमा बसेका थिए। बाक्लो हिउँ जमेपछि गोसाइँकुण्ड जान नसकिने भन्दै उनीहरू काठमाण्डौतर्फ फर्किएका थिए।

काठमाण्डौ फर्कने क्रममा उनीहरु बीचैमा हिउँमा फसेका थिए। बाटोमा हिँड्दै गर्दा चिप्लिएर खोचमा परेपछि उनीहरु माथि आउन नसकेको र हिउँमा पुरिएको अनुमान गरिएको छ। स्थानीयले सोमबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन