साढे २ किलो सुनसहित ६ जना पक्राउ

रसुवा। चीनको केरुङबाट अवैध रूपमा ल्याइएको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन्। काठमाण्डौ ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन्।

ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई घट्टेखोलाबाट पक्राउ गरिएको रसुवा प्रहरीले जनाएको छ।

बरामद भएको सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु