शहीद स्मारक लिग:मच्छिन्द्र लिगको शीर्ष स्थानमा,थ्री स्टार क्लब पराजित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो।

मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरे। खेलको ३८औँ मिनेटमा रेजिनले गोल गरे। पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो। मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल ग¥यो। मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गरे।

जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ। मच्छिन्द्रले हालसम्म नौ खेलमा छ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो

यस्तै थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ। लिगअन्तर्गत मङ्गलबारका खेलहरु अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन्।

एता आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको पहिलो खेलमा पुलिसले (सशस्त्र प्रहरी बल–एपिएफ) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने। उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो। कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन्। रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए।