प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

काठमाडौं। नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन्। छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन्।

तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ। गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्रधान कार्यालयले लुकाएर राख्दै आएको छ। बरु गल्ती गर्ने प्रहरीलाई संरक्षण गरेर पीडितलाई पनि उल्टो सताउने काम प्रधान कार्यालय नक्सालबाटै भएको छ।

प्रहरी प्रधान कार्यालयमा दुई एसएसपीविरुद्ध यौन शोषणको उजुरी परे पनि त्यसउपर कुनै छानबिन गरिएको छैन। हाल संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी शौरभ राणा तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रमुख एसएसपी राकेश सिंहविरुद्ध गम्भीर उजुरीमा प्रहरी मुख्यालयले आँखा चिम्लिएको हो।

अन्य सम्बन्धित समाचार:  २३ किलो गाँजासहित तीनजना पक्राउ

दुवै एसएसपीमाथि महिला प्रहरी कर्मचारीलाई यौन शोषण गरेको आरोप छ। प्रहरी प्रधान कार्यालयले उजुरीउपर चासो नदिएपछि दुवैले गृह मन्त्रालयमा समेत उजुरी गरेका थिए। तैपनि न्याय पाउन सकेका छैनन्।

प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसाउपर विशेष अभियान चलाइरहेको छ। तर, संगठनभित्रैकै यस्ता घटनामा पनि सिनियर अधिकृतहरुलाई जोगाउने गरेको छ। यसबाट संगठनका तल्लो तहका महिला प्रहरीले प्रहरीभित्रै असुरक्षित महसुस गरेका छन्। यो समाचार आजको दृष्टि साप्ताहिकमा छ।