काठमाडौं। दैलेख जिल्ला अदालतले जातीय भेदभावको कसुरमा नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ। जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यका अनुसार जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले सोमबार यो फैसला गरेको हो।
गएको वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लास्टिकको जर्किन छोइएको भन्दै ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानेले टाउकोमा हँसिया प्रहार गरेपछि उपचारका लागि नेपालगञ्ज लगिएको थियो।
घटना लगत्तै भागेकी आरोपित न्यौपानेलाई चार महिनापछि सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले गएको साउन २८ गते पक्राउ गरेको थियो। प्रहरीले दुई हप्ता हिरासतमा राखि अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस भएको जातीय भेदभाव तथा छुवाछुत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपैयाँ धरौटीमा छोडेको थियो।