१ देखि १२ कक्षा सम्म नयाँ पाठ्यक्रम लागू हुने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

गणेशराज ओझा, भक्तपुर।

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रबाट लागू हुने गरी नयाँ पाठ्यक्रम निर्माण गरेको छ। नयाँ निर्माण गरिएको पाठ्यक्रम कक्षा १ र ११ मा आगामी शैक्षिक सत्रबाट लागू हुने भएपनि अरु कक्षामा भने क्रमश  लागू हुँदै जाने बताइएको छ।

पहिलाको पाठ्यक्रम ज्ञानमा बढी केन्द्रित भएर सीप विकास गर्ने खालका भएपनि अब भने सीपमा केन्द्रित गर्न खोजिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी तथा निर्देशक गणेश प्रसाद भट्टराई ले बताए।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत २० भदौमा कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत गरेको थियो। भट्टराईका अनुसार कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम आगामी ०७८ मा, कक्षा ४, ७, ९ को ०७९ सालमा र ५, ८ र १० को पाठ्यक्रम ०८० सालमा परिवर्तन हुने छन्। विभिन्न प्राविधिक विषयहरू नयाँ पाठ्यक्रममा समावेश गरिएको छ र प्रयोगात्मक शिक्षालाई अगाडि बढाइएको छ। जसले गर्दा उत्पादन भएको जनशक्तिले स्वरोजगार सिर्जना गर्न सक्नेछन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

 

अबको पाठ्यक्रमबाट शिक्षकले कक्षाकोठामा व्याख्या गर्ने मात्रै नभएर कक्षाकोठा बाहिर गएर पनि विद्यार्थीले सीपहरू सिक्न सक्ने र ती प्रयोगात्मक सीपहरू उनीहरूले विद्यालय छोडेर बाहिर जादा उपयोग समेत गर्न सक्ने छन्। यस्तै विद्यार्थीको स्तर अनुसार नैतिक शिक्षा पनि पाठ्यक्रममा समावेश गरिएको भट्टराईको भनाई छ।

पहिले अनिवार्य र ऐच्छिक गरी ५ वटा विषय अध्ययन गरिरहेका कक्षा ११ र १२ का विद्यार्थीले लागू हुने नयाँ पाठ्यक्रममा तीन अनिवार्य र तीन ऐच्छिक गरी ६ वटा विषय अध्ययन गर्नुपर्ने छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले  अङ्ग्रेजी, नेपाली र सामाजिक अनिवार्य विषयको रुपमा पढ्ने छन् भने अन्य तीन वटा ऐच्छिक विषयको रुपमा पढ्न सक्ने छन ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

त्यस्तै कक्षा १२ मा नेपाली अङ्ग्रेजी र जीवन उपयोगी शिक्षा अनिवार्य विषयको रुपमा पढ्नुपर्ने छ भने बाँकी तीन ऐच्छिक विषय हुनेछन्।  ८० वटा ऐच्छिक विषयलाई चार भागमा विभाजन गरिएको र विद्यार्थीले छनौट गर्दा तीन वटा ग्रुपबाट आफूले पढ्न चाहेको विषय छनौट गर्न सक्ने र बाँकी रहेको अर्को ग्रुपबाट पनि विद्यार्थीले चाहेको खण्डमा चौथो ऐच्छिक विषय लिन सक्ने व्यवस्था गरिएको  उनले बताए।