प्रधानमन्त्री ओलीले दिए सभामुख सापकोटालाई बधाई

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाइ दिएका हुन्।

‘कार्यकाल सफल रहोस् हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा सफलता मिलोस्। दल, सरकार र मेरो तर्फबाट बधाइ तथा शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने।

उनले सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको बताए। संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्यादित ढंगले संसद अघि बढाउन सफलता मिल्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन्। ‘सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहन्छ,’ओलीले भने।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीलाई साथ दिएका चारै एमाले सांसदलाई पदबाट हटाइँदै

उनले संसदबाट थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस अधिवेशनमा अब समय खेर नफाल्दै बाँकी थुप्रै काम अगाडि बढाउने बताए।