आस्था राउतलाई थुनामा राखेर प्रहरीले अधिकारको दुरुपयोग गर्यो : कोमल वली

काठमाडौँ। गायिका आस्था राउतलाई थुनामा राखेर प्रहरीले अधिकारको दुरुपयोग गरेको राष्ट्रिय सभा सांसद कोमल ओलीले बताएकी छिन्।

मंगलबार राष्ट्रिय सभामा गायिका आस्था राउत पक्राउको विषयलाई उठाउँदै सांसद ओलीले भनिन्, ‘एउटा सामान्य भनाभन भएको घटनालाई लिएर चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिनु गलत हो।’उनले घटना हेर्दा सामान्य देखिएकाले सामान्य तारिखमा बोलाएर राउतलाई सोधपुछ गर्न सकिने बताइन्। ‘घटना हेर्दा गम्भिर फौजदारी अपराध जस्तो लाग्दैन। फौजदारी सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ। त्यसैले गलत ढंगले कानूनको दुरुपयोग भएको छ,’ उनले भनिन्।

उनले गायिका राउत र महिला प्रहरी जवानबीच सामान्य भनाभन भएको र राउतबाट कानूनले निषेध गरेको कुनै कुरा नभएको दाबी गरिन्। उनले राउतले ठूलो स्वर र अलिकति रिसाए पनि कुनै गालि गलौज र अपशब्द नबोलेको बताइन्।‘तारिखमा राखेर सोधपुछ पनि गर्न सकिन्थ्यो। तर भित्रै थुन्ने कुराले त्यसमा बदनियत छ भन्ने कुरा देखिन्छ,’ सांसद ओलीले भनिन्।गायिका आस्था राउत भने सोमबार बेलुकी नै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएकी छिन्।

राउतको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। सोमबार नै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको मुद्दामा चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।