गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

काठमाडौँ। गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन्। अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन्।  जिल्ला प्रशासन कार्यालयले राउतसँग अभद्र व्यवहार मुद्दामा ४ हजार धरौटी माग गर्ने आदेश गरेको थियो।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो।

२ हप्ता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जाने क्रममा त्यहाँ सुरक्षार्थ रहेकी प्रहरी जवान रमिता श्रेष्ठसँग उनको भनाभन भएपछि आस्था विवादमा आएकी थिइन्। प्रहरी जवान श्रेष्ठको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत माघ ५ गते आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।