सपना देख्न नछाडेका रुकमानको साङ्गीतिक आरोह अवरोह

साहारा लङ्वा लिम्बू।   भनिन्छ, सपना देख्न छाड्नु हुन्न। र त त्यही सपनाले जिउन सिकाउँछ। प्रगतिको खुड्किलो चढाउँछ। सपना पूरा नभएसम्म निद्रा बिथोलिन्छ। अक्सर मान्छे निदाएर सपना देख्छ। तर आँखा खोलेर पनि सपना देख्नेहरूको कमी छैन यहाँ। ताप्लेजुङ जिल्लाको एउटा विकट गाउँ थिङलाबुमा जन्मेको एउटा बालक जसलाई सपनाको दर्जनौँ चाङले निदाउन दिएन। र त अहोरात्र सङ्गीतमा लागि परे। रुकमान लिम्बुको परिचय यतिमा मात्र सीमित गर्नु उनीमाथि अन्याय हुन्छ। उनै रुखमानलाई बुवा चाहन्थेँ लाहुरे बनाउन। तर, रुकमानको सपना अर्कोतिर थियो। धेरै सङ्घर्षपछि सङ्गीतमा लागिरहँदा उनै रुकमानले आफ्नै दुईवटा एल्बम निकाले। चलचित्रमा आवाज दिन भ्याए। लगभग ६०/७० वटा गीत गाइसके।

गायन यात्रा
‘म कुनै साङ्गीतिक माहोल भएको परिवारमा त हुर्केको होइन, मेरो स्थायी ठेगाना ताप्लेजुङको सान्थाक्रा भएता पनि मावली घर थिङलाबुमा बाल्यकाल बित्यो। मावली परिवारमा पनि त्यस्तो गीत सङ्गीतको माहोल खासै थिएन। तर, त्यही गाउँका मामा पर्नेहरूले विद्यालयको कार्यक्रमहरू, क्लब वा अन्य कार्यक्रमहरूमा माहोल मिलाउँथे। गाउन लगाउँथे। तिमी राम्रो गाउँछौ भन्थे। तर, त्यो बेला मलाई केही थाहा थिएन सङ्गीत सिक्नुपर्छ भनेर। आफूलाई गाउन आउथ्यो गाउँथेँ। यो गर्छु, त्यो गर्छु केही थिएन। त्यो बेला पूर्वका लोक गायकहरू शम्भु राई, पूर्ण राई, जितेन राई दाइहरूको गीतहरू खुब सुनिन्थ्यो।’

काठमाडौँको शुरूवात
‘काठमाडौँ आउँने मेरो कुनै योजना नै थिएन। त्यो बेला जनयुद्ध चलेको थियो। हामी जस्तो विद्यार्थी उमेरमा चरा जस्तै उडी डुल्नेहरू त्यतिबेलाको माओवादीको त्रास थियो। मसँगैका धेरै साथीहरू त्यही सङ्घर्षमा जानी नजानी होमिए।

उनीहरू गाउँमा आएर विभिन्न कार्यक्रम गर्थे। त्यही कार्यक्रममा मलाई पनि बेलाएर गीत गान लगाउँथे। मलाई जुन डर थियो त्यही डर मेरी आमालाई पनि रहेछ। त्यसैले माओवादीले छोरा लानुभन्दा अघि चुपचाप छोरालाई काठमाडौँ पठाउने। आमाको त्यही चाहानाले मलाई जन्मघरबाट कयौं कोश टाढा काठमाडौँ ल्यायो।

२०६० सालमा म काठमाडौँ छिरे। नयाँ माहोल र अन्जान परिवेश। त्यसमा पनि म सोझो गाउँको रुकमान। शहरमा त्यसै विलाएको जस्तो भएँ। त्यो ताप्लेजुङको विकट गाउँमा हुर्केको मान्छे। त्यो बेलामा गाडी हेर्नका लागि मात्र एक दिनको पैदल हिँडेर सदरमुकाम आउनु पथ्र्यो। तर, त्यहाँ आँखा हेरेर नसक्ने मोटर देखेर म त्यसै त्यसै दङ्ग पर्थे। भनिन्छ नि अवसरलाई चिन्न सकेन भने मान्छे अघि बढ्न सक्दैन।’

कसैले सहारा दिएर नै अघि बढ्न सकिन्छ। रुकमानको पनि काठमाडौंमा दिदी भेना–थिए। त्यसैले उनलाई सहज भयो। त्यो बेलासम्म पनि उनलाई गाउन त मन लाग्थ्यो तर सङ्गीत सिक्नुपर्छ भन्ने थाहा थिएन। ‘म गाउँमा हुँदा त्यति धेरै पढाई प्रति ध्यान दिने मान्छे होइन। तर, काठमाडौँ आएपछि दिदीले पढ्नुपर्छ भन्नुभयो। अनि म विद्यालय जोइन भए। त्यो बेलाको एक पल अझै पनि मलाई याद आउँछ।  एक त म आँफै पढाइमा कमजोरी थिएँ। फेरि अंग्रेजीमा त झनै कमजोरी। त्यसमाथि ३ महिना ढिलो भएको थियो। अनि विद्यालयमा २ वटा विषय मात्र नेपाली माध्यमबाट पढाइ हुन्थ्यो। त्यो पलमा मलाई धेरै गाह्रो भएको थियो। यो पल म कहिले भुल्न सक्दिन।’

औपचारीका सांगीतीक यात्रा
‘हुन त यहाँ सफलता पाउन कुनै सजिलो छैन। धेरै समस्यासँग जुध्नुपर्छ। त्यसो त दुःखपछि त सुख आउँछ। मेरो परिवारको माहोल खासै संगीतमय त थिएन। त्यसमाथि बाबा लाहुरे। म पनि लाहुरे भएको हेर्ने बाबाको सपना थियो। मलाई गाउन मन लागेकै कारण गायनमा रमाउदै छु। जन्म दिने आमा बाबा हुनुहुन्छ। तर, कर्म दिने मेरी दिदी भेनालाई मान्छु। म जे छु उनीहरूकै कारणले यहाँ छु।

म दिदी–भेनासँगै बस्थेँ। त्यहीँबाट म म्युजिक क्लास जान्थेँ। त्यो पल नि धेरै रमाइलो थियो। १ घण्टाको बसमा उभिएर यात्रा गर्नु, त्यो उभिएर गरिएको कठिन यात्रालाई मेरो गायन सपनाको एक पलले भुलाइदिएको हुन्थ्यो। यहीँबाट मैले धेरै गीतहरू गाउँन सफल भएँ। आफ्नो एल्बम निकाल्न सफल भएँ’

प्रविधिको सहयोग
‘हुन त कला यहाँ किनेर–मागेर पाउन सकिन्नँ। शुरूमा त हामीलाई पनि गाह्रो थियो। तर अहिले प्रविधिको कारण धेरै सहज भएको छ। राम्रा–राम्रा स्टुडियोहरू स्थापना भएको छ। आवाजहरूमा क्वालिटि बनाउन मिल्छ। हुन त यो आवाज बनाएर बनाउन मिल्ने होइन। केही हदमा मिहिनेत गरेता पनि भगवान बरदान हुन पनि जरुरी हुन्छ। साथै ठूला–ठूला रियालीटि सो सञ्चालनमा आएको छ। म्युजिक क्लासहरू सञ्चालनमा आएको छ। प्रविधिले धेरै सहयागे गरेको छ।’

म्युजिक नेपालको झुलावट
‘मैले २०६७ सालमा आफ्नै म्युजिक कम्पनी दर्ता गरेर मेरो कम्पनीबाट नै एल्बम निकालेको थिएँ। तर, त्यो बेला एल्बम निकालेता पनि चलेको कम्पनीबाट एल्बम निकालियो भने श्रोताका माया राम्रो पाइने थियो। त्यसमाथि म आँफै नयाँ थिएँ। अनि एल्बम पनि नयाँ थियो। अनि कम्पनी पनि नयाँ र मिडियाको पहुँचमा पुग्न धेरै नै गाह्रो थियो।

त्यसकारण आफ्नो सिआरविटी, पिआरविटी दर्ता गर्न एकै चोटी नेपाल टेलिकमसामु जान नमिल्ने थियो। त्यसकारण म्युजिक नेपाल या त हाइलाइट्स नेपाललाई लिनुपर्ने थियो। त्यो समयमा हाइलाइट्स खासै त्यति पपुलर थिएन र मलाई राम्रो थाहा पनि थिएन। त्यसैकारण म म्युजिक नेपालसँग एग्रिमेण्ट गर्न पुगेँ। सामान्यतया हामीलाई ५ वर्षको एग्रिमेण्ट दिइन्थ्यो। मैले सिआरविटी, पिआरविटीको लागि ५ वर्षे कन्ट्रयाक गरेँ। त्यसै अनुसार अघि बढेँ। यसबीच अनेक समस्या झेलेँ। हुन त म मात्र होइन ठूला–ठूला अग्रज कलाकारहरूलाई पनि यसरी नै झुलाएर राखेको हुन्छ। हामी जस्ता हजारौं कलाकारहरु यसको शिकार बन्न पुगेका छन्।’

स्टुडियोको स्थापना
‘संगीत नै जीवन भएकाले मैले रुबुसा क्रेटिब वर्कस स्टुडियो स्थापना गरी सञ्चालनमा ल्याएको छु। यसरी नै काम गरिराखेको छु। यसरी नै अहिले चलिरहेको छ।’

मोडलिङको यात्रा
आफूलाई गायक भनेर नै चिनाउने मन थियो गायक रुकमानलाई। हुन त मान्छे हो यो सुन्दर जीवन पाइसकेपछि हरेक ठाउँमा हरेक कुरासँग रमाउने इच्छा हुन्छ। ‘मोडलिङ गर्छु भन्ने इच्छा त थिएन मेरो। सायद मन भएको भए यो भन्दा अगाडि नै गर्थेँ होला। आफ्नो गीतहरुमा त फाट्ट फुट्ट गरिरहेको थिएँ। पछि निर्देशक खगेन्द्र पन्दाकको कारण मैले यो यात्रा शुरु गरे तर अझै पनि म गायक नै भन्न रुचाउँछु।’

जिन्दगीको परिभाषा
यहाँ जिन्दगीलाई मानिसहरू आफ्नै तवरमा परिभाषित गर्छन्। अनि आफ्नै तरिकले जिएका पनि हुन्छन्। ‘म जिन्दगीलाई नाटक भन्छु, जिन्दगी एउटा नाटक हो। जिउन जानिए सहज छ। त्योभन्दा पहिले आफ्नो सुन्दर जीवनलाई नियालेर सहज तरिकले जिउन जान्न जरुरी छ। अनि त हामी त्यो जिन्दगीको असल पात्र बन्न सक्छौँ।