‘सेन्टी भाइरस’ को ५० प्रतिशत रकम गौतम बुद्ध क्रिकेट रङ्गशालालाई

काठमाडौँ। विशेष गरी हास्य टेली श्रृङखला मेरी बास्सै बाट आफूलाई लोकप्रिय बनाउन सफल हास्य कलाकार सितारा कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेको स्टार कमेडी फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर रिलिज भएको छ। बुधबार राजधानीमा एक कार्यक्रम बिच उक्त चलचित्रको ट्रेलर रिलिज गरिएको हो।

फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ र राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा फरक पार्टीमा आबद्ध श्रीमान सिताराम र श्रीमती कुञ्जनाको नोकझोकलाई ट्रेलरमा विषेश स्थान दिइएको छ। रामबाबु गुरुङको निर्देशनमा रहेको यस फिल्ममा राजनीतिक विषय बस्तुलाई समावेश गरिएको पाइन्छ। साथै परिवारमा पनि राजनीति भएको पाइन्छ।

कलाकार सिताराम एक कलाकार मात्र नभई उनी समाज सेवामा पनि तल्लीन भएका छन्। सिताराम र कुञ्जना घिमिरेले धुर्मुस सुन्तली फाउण्डेसन’ मार्फत चितवनमा गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण गरिरहेका छन्।

फिल्मको ५० प्रतिशत आम्दानी यही रङ्गशाला निर्माणमा खर्च गरिने सिताराम (धुर्मुस) ले जानकारी गराए। त्यस्तै फिल्म ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखि अभिनेत्री बन्ने सपना पुरा भएको कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन्।