ताप्लेजुङ साँझको सम्पूर्ण तयारी पुरा

काठमाडौँ।  ताप्लेजुङका कलाकारहरूको लागि अक्षयकोष स्थापना तथा शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ताप्लेजुङ साँझको सम्पूर्ण तयारी पुरा भएको छ। ताप्लेजुङ सरोकार केन्द्रको आयोजनामा माघ १७ गते शुक्रबार काठमाडौँको प्रज्ञा भवनमा हुन लागेको उक्त साँझको सम्पूर्ण तयारी पुरा भएको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्ता साँवाले जानकारी गराएका छन्।

सांस्कृतिक र साङ्गीतिक प्रवर्द्धनसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बताइएको छ। उक्त कार्यक्रममा चर्चित गायक राजेशपायल राई, चर्चित कलाकार मनोज गजुरेल, मेलिना राई, झुमा लिम्बू, कुशल थलङ, कञ्चन थलङ, पदम राई, सुसन साम्सोहाङ, जसोदा सुब्बा, मोहन मादेन, विरेन्द्र श्रेष्ठ, विना भट्टराई, तारा थेवे, सुष्मा लिबाङ लगायतका कलाकारहरूको प्रस्तुति रहने छ।

करिब १५ सय दर्शकको  उपस्थिति अनुमान गरिएको यस कार्यक्रमको संयोजकमा सरोकार केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङ रहेका छन् भने सङ्गीत तर्फको संयोजन माधव प्रधान र अशोक राईले गरेका छन्।

कार्यक्रममा लाखे नाच, च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाच लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति रहने सरोकार केन्द्रका उपाध्यक्ष तथा साझका प्रचार संयोजक टङ्क श्रेष्ठले जानकारी गराएका छन्। साथै ताप्लेजुङ झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिने बताइएको छ।