एक राजनेताको चुनाव होस् – राष्ट्रिय एकता ए कता ? नबनोस् !

“पृथ्वीनारायण एक क्रुर र जातीय भेद गर्ने राजा थिए भन्छन्। तिनका नाममा राष्ट्रिय एकता दिवस मनाउन म त गईन, बिदा पनि थिएन।” राजतन्त्र फाल्ने आन्दोलनमा उहिले १, २ टायर बालेका र अहिले नेपालै छोडी विदेश जान प्रयासरत मेरा स्वघोषित अग्रगामी मित्रले भने। “गणतन्त्र नेपालमा पृथ्वीनारायण लाई फालिएको शाह वंशका राजाभन्दा पनि राष्ट्रिय एकताका प्रतीकका रूपमा हेरिनु पर्छ।” मैले संयमित भएर भनेँ। हरेक राष्ट्रको निर्माणमा (स्थापना या स्वतन्त्रता सङ्ग्राममा (योगदान दिएका अभियन्ता, सेनानी या जन नेताको स्मरण गरिन्छ। फालिएका शाह वंशीलाई एकताको प्रतीकको रूपमा हेर्दा राजसंस्था फर्काऊँ भन्ने प्रतिगमनकारी तत्वहरू सक्रिय होलान् भन्ने डर लाग्छ भने अमर सिंह थापा या बलभद्र कुँवर जस्ता स्वाभिमानी वीर पुर्खाको नाममा एकता दिवस मनाउँदा पनि हुन्छ।

यहाँ राष्ट्रिय एकता र स्वाभिमानको कुरा हो राजतन्त्रको हैन,जहानियाँ शासन, अधिनायकवाद लाद्ने प्रयास, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद चलाएका आधारमा नेपालमा कुनै वंशप्रति घृणा गर्ने हो भने नेपालमा सबै मल्ल, शाह, राणा, थापा, चन्द, बिस्ट, कोइराला, देउवा, खनाल, नेपाल, भट्टराई, दाहाल र ओली जस्ता सबै थरहरुलाई देश निकाला गरे हुन्छ। र यी सबैलाई नेपाल सरकारको उच्च ओहोदामा नियुक्त हुनबाट प्रतिबन्ध लगाए पनि हुन्छ।

हो! हामी नेपालीलाई विभिन्न जहानियाँ शासनले इतिहास (र वर्तमानको) विभिन्न काल खण्डमा प्रताडित गरे। राज्य शक्तिको दुरुपयोग गरी सरकारी ढुकुटीको दोहन गरे। एकचोटी सत्तामा पुगेका परिवारका सदस्यहरू प्राय सबै अरबपति छन् आज! जहानियाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिहरूको सेना, प्रहरी , व्यापार देखि दलाली सम्म हाली मुहाली छ ! आज आफैलाई समाजवादी र कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डा र हत्याराहरूको संरक्षक बनेको छ।

  अलोकप्रिय राणा र राजा उखेलेर फालेर प्रजालोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत, र विसङ्गतिको राजनीतिलाई उखाली फाल्ने क्रान्ति बुलेट हैन ब्यालेटमा हुनु जरुरी छ। यस बाहेक अझै पनि जाति, क्षेत्र र धर्मको नाममा उग्र दक्षिण पन्थी सङ्कीर्ण राजनीति गर्ने र बन्दुकको भरमा उग्र वामपन्थी राजनीति गर्न खोज्ने तप्कालाई दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीलाई झैँ थाङ्नामा सुताउन जरुरी छ।

अब लोकतन्त्र संस्थागत गरी देशलाई प्रजातान्त्रिक समाजवादको परिष्कृत रूप कल्याणकारी लोकतन्त्र तर्फ उन्मुख गराउन अर्को वैचारिक क्रान्ति हुन जरुरी छ। अब हाम्रा छोडी राम्राको चयन नगरी परिवर्तन हाम्रै जीवनकालमा सम्भव छैन !

आज खोक्रो राष्ट्रवादको नारा लगाई नेताहरू राज्यको दोहन गरी सपरिवार विदेश भ्रमण र उपचार गर्न जानेहरूलाई साँचो देशभक्ति र स्वाभिमान सिकाउनु जरुरी छ। आज बिदेसिनुलाई जीवनको सबै भन्दा ठुलो उपलब्धि झैँ गरी विदेश उड्नेलाई खादा, माला लगाई भोज, पार्टी गरी बिदाइ गर्ने फेशन चल्दै गर्दा नेपाली जनताले एउटा साँचो राष्ट्रिय एकताको प्रतीक खोजी रहेछ।

नेपालमा हामीलाई चाहिएको मसिहा हामी कैले पत्रकारमा खोज्दै छौँ , सेवा निवृत्त इमानदार कर्मचारीहरूबाट कोही आओस् भनी आशा गर्दै छौँ! यो जन भाव बुझेका राजतन्त्र चाहने केही प्रतिगामी ब्वाँसा राष्ट्रवाद र धर्मरूपी भेडाको छाला ओढी जनतालाई झुक्क्याउने प्रयास गर्दै छन्। यो राजनेताको खोजीले हुँदा–हुँदा जनता अब रियालिटी सो बाट कोही आओस् भनेर प्रार्थना गर्दै छन्।

एमसीसीको विपक्षमा धारणा बनाउनुमा स्व–अध्ययन र समीक्षाको अभाव बाहेक यी दलाल पुँजीवादी नेताहरू प्रतिको अविश्वास पनि हो! एक तिहाइ भूभाग गुमाउने सुगौली सन्धि हुँदा पनि जनताले यती अविश्वास गरेका थिएनन् जति आज एमसीसी बारे जनता त्रसित छन्। यहाँ विश्वास आफ्नै सत्ताधारी नेताको छैन विदेशीको के कुरा? यस्तो परिस्थितिमा हाम्रो राष्ट्रिय एकताको स्वाभिमानको प्रतीक र जयन्ती हुनु जरुरी छ। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे‘.

आज एक तिहाइ जनता, ८० लाख युवा भोटै नचल्ने स्थानमा छन्। तिनकै नोट चल्ने तर भोट नचल्दा आज निर्वाचनहरूमा नौला, दक्ष र इमानदार अनुहार उदाउन सकेका छैनन्। आज विदेशको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा र सुशासन प्रत्याभूत गर्ने सरकार देखेपछि नेपालका यी मुकुन्डाधारी परम्परागत राजनीतिज्ञ लाई अनुमोदन गर्ने त प्रश्नै आउँदैन ! त्यसैले अहिले विदेशमा पसिना बगाई नेपालको अर्थतन्त्र चलाउने पुँजी विप्रेसित गर्ने युवाको मताधिकार सुरक्षित गर्न सर्वोच्चको आदेश समेत मान्ने पक्षमा आजका ठुला दल छैनन्।

आज फेरि अर्को आन्दोलन गर्नु जरुरी छ। जसरी राणाले जनता सचेत भए आफ्नो निरङ्कुश शासन विरुद्ध आन्दोलन गर्लान् भनेर विद्यालयहरू नखोलेको इतिहास हुँदै गर्दा आज मिडिया विधेयक ल्याई सामाजिक सञ्जाल र सञ्चारमा देश विदेशका युवाका विचारलाई कुण्ठित गर्ने विधेयक ल्याउने प्रयास गर्नु, मताधिकारको अधिकार नदिनु आफ्नै निरङ्कुश र असक्षम सत्तालाई निरन्तर बचाई राख्ने प्रयास हो। आज फेरी अर्को चेतनाको क्रान्ति हुनु जरुरी छ। “मकैको खेती“ लाई तब दबाइयो आज फेरी “मार्सीको खेती“ दबाउने प्रयास हुँदै छ !

उखु किसान र युवाको रगत, पसिनामाथि राज गर्ने दलाल पुँजीवादीहरूलाई “यती धेरै माया दिई मन भरी दुख नदेऊ“ भन्ने बेला आयो। यो भ्रष्टाचार विरुद्धको पर्वतारोहणमा अख्तियार र प्रहरीले समाउनै नसक्ने यतीको किंवदन्तीका पछाडि लुकेका गरिब किसानका उखु र पसिना चुस्ने बिचौलिया बाँदर र भालुहरूलाई जेलको चिडिया घरमा राखी जिनका जहानियाँ संरक्षक मालिक नेताहरूको नाम सहितको ब्याज घाँटीमा झुन्ड्याई सर्व–साधारणले देख्ने गरी राख्न सक्ने कानुनको अनुमोदन गर्न सक्ने वैकल्पिक नेतृत्व चयन गर्ने वैचारिक क्रान्ति हुनु जरुरी छ !

अब मकै खाने “भालु’ धपाई काम गर्ने “कालु“ लाई प्रोत्साहित नगरी देशमा समतामूलक संवृद्धि हाम्रै पालामा सम्भव छैन। आउनुहोस् हामी सबै नेपाली एकजुट बनौँ। आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाई राख्न खोक्रो राष्ट्रवादी भेडाको छाला भित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौँ।

जब लोकतन्त्र संस्थागत भई जनता जनार्दनको स्वाभिमानको रक्षार्थ खसेका सचेत र जागरूक मतका सिंहको गर्जन आउँदो निर्वाचनको मत–पेटीका भित्र गर्जिने छ, यी जहानियाँ, दलाल पुँजीवादी राजनीति गर्ने ब्वाँसाहरू भाग्दै अल्पमतको खाडलमा पर्ने छन्। अनि देशलाई सुशासन र संवृद्धि तर्फ र्डोयाउने राष्ट्रिय एकता र संवृद्धिको संवाहक एक राजनेताको चुनाव जनता स्वयम् गर्ने छन्। त्यो दिन नआउँदा सम्म पृथ्वीनारायण र राष्ट्रिय एकता दिवसलाई नभुलौँ !!
नेपालको जय होस!!

(खप्तडछान्ना गाउँपालिका ५, पिठातोला, बझाङ)
हालः विद्यावारिधि, युनि भर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका,

Twitter: @BishnuJoshi999