प्रकाश सपुतको जोडी वर्षा

काठमाडौँ। चर्चित लोकगायक प्रकाश सपूतको अभिनयमा बन्न लागेको चलचित्र ‘परदेशी २’ मा नायिकाको रुपमा वर्षा सिवाकोटीलाइ फाइनल गरिएको बताइएको छ। फिल्मको छायाङ्कन केही दिनमा नै सुरु हुँदै छ। नारायण रायमाझीको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायाङ्कन फागुनको दोश्रो साताबाट सुरु हुँदैछ।

यसको निर्माणपक्ष लामो समयदेखि नायिकाको खोजीमा थियो। अब भने निर्देशक रायमाझीले नायिकाको रुपमा वर्षा सिवाकोटीलाई फाइनल गरेका छन् । वर्षा र यसको टिमबीच सम्झौता भएको बताइएको छ। यो विषयमा नायिका सिवाकोटीले भने फिल्ममा कुरा भएको तर फाइनल भइनसकेको बताएकी छिन्।

चलचित्र ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पीडालाई व्यक्त गर्ने छ।  यो चलचित्रको केही दृश्यको छायाङ्कन अमेरिकामा भैरहेको बुझिएको छ। वर्षा चलचित्रमा जोडिएको विषयमा यसको निर्माणपक्षले पनि केही बताएको छैन।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

चलचित्रका लागि अर्की एक जना नायिकाको खोजी पनि भैरहेको बुझिएको छ। चलचित्र परदेशीमा प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो। यसको सिरिजमा भने प्रकाश सपूत र वर्षा सिवाकोटीले काम गर्दैछन्।

नायिका सिवाकोटीको व्यस्तता अहिले खुबै बढेको छ। हालै, ‘चालबाज’को छायाङ्कन सकाएकी वर्षाले रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’मा पनि काम गर्दैछिन्। उनले ‘सुदुर’ अगाडि चलचित्र ‘परदेशी २’ को छायाङ्कन सक्ने योजना बनाएको बुझिएको छ।