कति भए भाषण यहाँ

-शशिशेखर घिमिरे


कति भए भाषण यहाँ नारा कति–कति
मुखमा मात्र विकास भयो देश उही गति।।
देशभित्रै काम गर्ने एउटै थियो चाहा
नियतिको बन्धनले  पार्‍यो धेरै टाढा।।
पराइको खेत खन्छु, फोरी डल्लै डल्ला
विकासको भाषण धेरै, रहेछ हल्लै हल्ला।।
छोडी आए सुख सन्तान रुदैं छिन् रे उनी
परदेशमा बित्ने हो की यो मेरो जुनि।।
हेर आज दाँया बाँया देश कस्ता छन्
नेपालका नेता मन्त्री आफैं भित्र मस्त छन्।।
चाकडी र चाप्लुसीले देश खान्छन् हेर
पढ्ने लेख्ने युवा किन खाडी जान्छन् हेर।।
कति भए भाषण यहाँ नारा कति–कति
मुखमा मात्र विकास भयो देश उही गति।।