‘गोर्खा वारियर’को प्रचार डबल डेकर बसबाट

काठमाडौं। निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्माण गर्ने भएका छन्। यस वर्षको जेठमा प्रदर्शन भएको फिल्म ‘वीर विक्रम २’ पछि फेरी नयाँ फिल्म निर्माणमा लागेका हुन्। उनले वीर गोर्खालीहरूको कथानक चलचित्र ‘गोर्खा वारियर’ निर्माण गर्ने भएका छन्।

सन २०२१ मा विश्वभर प्रदर्शनमा आउँने यस फिल्ममा चर्चित अभिनेता दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, कविता आले, माओत्से गुरुङ, रुपा पुनसँगै बलिउड कलाकारहरूको पनि अभिनय रहने छ। लण्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा प्रदिप भारद्वाजले लेखेका हुन्। ५० प्रतिशत हलिउड प्रविधिले काम गर्ने यस फिल्म अङ्ग्रेजी र नेपाली भाषामा बन्ने निर्देशक चाम्सले बताएका छन्।

युके, अफगानिस्तान र नेपालमा छायाङ्कन हुने यस फिल्मको निर्माण भए पछि लण्डनमा विश्व प्रिमियर गरिने बताइएको छ। प्रिमियरमा १० हजार दर्शक भेला गर्ने उद्देश्य लिइएको कारण पहिलो पटक डबल डेकर बसबाट अहिले नै प्रचार सुरु गरिएको छ।

प्रशान्त तामाङले फिल्म ‘परदेशी’ रिलिजको ४ वर्ष पछि फेरी नेपाली फिल्ममा कमब्याक गर्न लागेका हुन्। नेपाली फिल्मलाई अन्तराष्ट्रिय स्थिरमा चिनाउनका लागि अहिले देखि नै प्रचार सुरु गरिएको निर्देशक चाम्सले बताएका छन्। प्राप्त भएको जानकारी अनुसार फिल्म २० करोड भन्दा बढिको लागतमा फिल्म बन्दै छ।