काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको बताएका छन्।
कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्।
पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए।चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि दुईवटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्।
बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएको चिनियाँ अधिकारीहरुले आफूहरुलाई विश्वस्त बनाएको पनि उनले बताए।‘यही होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्ने गर्दछन् हामी जोगिनुपर्छ’ उनले भने नेपाल आउने पर्यटक र आउन चाहने पर्यटकहरुलाई नेपाल सुरक्षित र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैमा आग्रह गरेका छन्
विभिन्न पर्यटकीय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताए।