काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाए छन्। आइतबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको सातौँ जिल्ला सम्मेलनमा उनले काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढी हुने भन्दै कोरोना भाइरस लागेका सङ्क्रमितको चीनमै उपचार गराएर निको पार्नु पर्ने बताएका हुन्।
उनले कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशङ्का समेत व्यक्त गरे। एक्कासि कोरोना भाइरस फैलनु शङ्कास्पद भएको भन्दै उनले यसको पछाडि पनि अमेरिकाको हात रहेको हुनसक्ने बताए। अमेरिकाले विभिन्न देशसँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको दाबी गरे।
भाइरस लागेका सङ्क्रमितको उपचारको लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने दाबी गरे।