सम्पदा क्षेत्रभित्र गलत ढंगले बनेका सबै संरचना हटाउँछौंः मन्त्री भट्टराई

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले गलत ढंगले सम्पदा क्षेत्रभित्र बनेका सबै संरचनाहरु हटाउने बताएका छन्। आइतबार पुरातत्त्व विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवद्र्धन गर्न पुरातात्त्विक सम्पदाको उत्खनन गर्न आवश्यक रहेको बताउँदै सरकारले सभ्यता इतिहासको बुकलेट बनाउँन तयारी गरेको बताएका हुन्।

उनले हिजोका दिनमा गलत ढंगले सम्पदा क्षेत्रभित्र निर्माण भएका सम्पूर्ण संरचना हटाउने बताए। त्यस्तै, नेपालको ऐतिहासिक संस्कृतिको महत्त्व दर्साउँदै उनले कुनै विश्व विद्यालयले संस्कृति र इतिहासको अध्ययन गर्दै छन् भने नेपालको सम्पदा र संस्कृतिको अध्ययनबिना पूरा नहुने बताए। काठमाडौं भित्रका सम्पदालाई एक अर्कामा जोड्न सरकार साइकल लेन बनाउँने सोचाइमा रहेको उनको भनाइ थियो। सम्पदा प्रेमीका लागि काठमाडौं भित्रका सम्पदालाई साइकल लेनले जोड्न आवश्यक छ।

त्यसैगरी, भ्याली भित्रका सम्पदामा २४ घण्टै घुम्न मिल्नेगरी ‘भ्याली बाइ नाइट’ रात्रिकालीन समयमा पनि राम्ररी घुम्न सक्ने विकास गर्ने उनले बताए। भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकाय भएको भन्दै उनले सम्पदा कुनै एक देशको मात्र नभई विश्वव्यापी आँखाबाट हेर्नुपर्ने प्रष्ट पारे।हालसम्म नेपाल कोरोना भाइरसबाट मुक्त भएकाले घुम्न आउनेहरूका लागि सुरक्षित गन्तब्य बनेको भनाई थियो।