सिन्धुपाल्चोकमा कोरोनासँग मिल्दोजुल्दो बिरामी देखिए

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बा गाँउमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ। गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी मंगलबार साझँसम्म सयभन्दमाथि पुगेको थियो। कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक ज्वरोको समस्या देखिएको हो।

बिरामीको संख्या बढिरहेको छ । रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकोले थप चनाखो हुनु पर्दछ भन्ने मात्र आग्रह हो हाम्रो ।’

एकैपटक धेरै मानिस विरामी परेपछि जलविरे प्राथमिक स्वास्थ केन्द्रबाट दुई जना चिकित्सकको टोली गाँउमा पुगेको छ। विरामीको चीन यात्रा, त्यहाँको कुनै वस्तुसँग नजिक रहे नहेको समेत चिकित्सक टोलीले अध्ययन गर्नेछ।

अन्य सम्बन्धित समाचार:  ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

सामान्य औषधिसहित पुगेका स्वास्थ्यकर्मीहरुले औषधि चलाएपछि सामान्य सुधार देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन्। कोरोना भाइरससँग मिल्ने लक्षण देखिएको भन्दै गाउँपालिकाले सहयोगका लागि बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयले गाँउपालिकावाट आएको पत्रका विषयमा आज छलफल हुने जानकारी दिएको छ। रुघा खोकी, अत्याधिक ज्वरो कोरोना भाइरसजस्तै अन्य इन्फ्लुएन्जाको केही लक्षणमा समानता हुने भएकाले त्रसित हुनुनपर्ने मन्त्रालयको भनाइ छ।