अमेरिकाको टेक्सासमा नेपाली युवा सम्मेलन हुने

काठमाडौँ।  अमेरिकामा ठूलो संख्यामा नेपाली युवा तथा बिद्यार्थीहरु रहेको भए पनि तिनीहरुको ग़ैर आवासीय नेपालीहरुको आधिकारिक संगठन ‘एनआरएनए’ प्रति आकर्षण भने अत्यन्त न्यून रहेको पाईएको छ।

अमेरिकामा ठ्याक्कै यति संख्यामा नेपालीहरु छन् भन्ने तथ्यांक नभए पनि करीब ४ लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ। ती मध्ये क़रीब दश हजारको हाराहारीमा मात्र नेपालीहरुले सदस्यता लिएका छन् जसमा युवाहरुको संख्या अत्यन्त नगण्य छ।

यसैबिच युवाहरुलाई एनआरएनमा कसरी आकर्षित बनाउने भन्ने सबाललाई आत्मसात गर्दै एनआरएनए अमेरिका, युवा समिति (युवा तथा बिद्यार्थी) को सकृयतामा यहि फेब्रुअरी २३, २०२० मा टेक्सासको द युनिभर्सिटी अफ टेक्सास प्राङ्गणमा नेपाली युवा सम्मेलन हुने भएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका युवा संयोजक बिनोद रुवालीका अनुसार अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्की प्रमुख अतिथी रहने सो कार्यक्रममा गैर आवासीय नेपाली संघद्वारा युवा तथा बिद्यार्थीहरु लक्षित गरी ‘अन्डर-ग्र्याजुवेट स्कलरशिप’ को समेत घोषणा गरिने प्राप्त समाचारमा उल्लेख छ।