ओली र प्रचण्डले शहिद स्मृति दिवसमा सम्बोधन गर्ने

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमति अनुसार नेकपाले फागुन १ लाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको हो।

सोही अनुसार भोलि फागुन १ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान नौ बजे विशेष कार्यक्रम राखिएको छ। जुन कार्यक्रमलाई ओली र प्रचण्ड दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेताहरुले बताएका छन्।  नेकपाले तल्लो तहका कमिटीलाई पनि जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय अनुसार पार्टी पंक्तिमा सर्कुलर जारी गरिएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  खेर गयो ओलीको प्रयास, विश्वासको मत माग्दा देउवाले भनेः सहयोग गर्न सक्दिनँ

यसअघि तत्कालीन माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको थियो। २०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो।  तर २०७५ मा पार्टी एकता भएपनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन। ओली प्रचण्ड पछिल्लो सहमतिपछि भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसका रुपमा मनाउन निष्कर्षमा पुगेका हुन्।

यसअघि पूर्वमाओवादी समुहले फागुन १ लाई जनयुद्ध दिवसकै रुपमा मनाउनुपर्ने र पूर्वएमाले समुहले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई बढी प्राथमिकता दिँदै आएको थियो।