काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ।
सरकराले चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको जनाइएको छ। अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण फेला परेको थियो। सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचारकोलागि पुगेका एक बिरामी भागे
यसैबीच कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचारकोलागि पुगेका एक बिरामी भागेका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार साउदी अरबका नागरिक चीनको बाटो हुँदै नेपाल आएका थिए। ती नागरिकमा रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेको बताईएको थियो।
सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरिरहँदा उनी भागेका हुन्।