विश्व रेडियो दिवसः रेडियो जर्जर अवस्थामा

महोत्तरी। कुनै समयमा खेतमा काम गर्ने खेतालाले खेतको आलीमा रेडियो बजाएर हलो जोत्ने गरेको दृश्य क्रमिक रुपमा हराउँदै गएको छ। नेपालमा प्रजातन्त्र स्थापनापछि स्थापित भएका रेडियोहरुकोे आर्थिक अवस्था अहिले जर्जर भएका छन्। महोत्तरीका रेडियो सञ्चालकले जसोतसो रेडियोमार्फत सेवा प्रवाह गर्दै आएका छन्। कुनै समय सूचना सन्देश घरघरमा पु¥याएर अहम् भूमिका निर्वाह गरेका कारण जनजनको मुखमा झुण्डिने रेडियो पछिल्लो समय आमनागरिकको रोजाइ बन्न छाडेका छन्।

रेडियोकर्मी जिम्मेवार नभएकै कारण पछिल्लो समय रेडियो जनमानसको पहिलो रोजाइ बन्न नसकेको सामुदायिक पैरवी मञ्च बर्दिवासका प्रमुख नागदेव यादवले बताए। आज नवौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो। विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ। स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिंदै आइएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चले दियो पक्राउ परेका पत्रकार रिहा गर्न आदेश

नेपालमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन सुरु भएको हो।

२०४९ मा कानूनी रुपमा व्यवस्था गरिएपछि नेपालमा २०५२ सालदेखि रेडियो नेपालले नै एफएम प्रशारण सुरु गरेको हो। हाल एफएम रेडियोको विस्तार भै अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने अधिकाँश जिल्लामा आधा दर्जनबढी एफएम रेडियो सञ्चालनमा छन्।

“के के न हुन्छ भनेर सामुदायिक रेडियो देशभरिमा नै क्रमिक रुपमा खोल्यो। तर राज्यले सहयोग र सम्बोधन नगरेकै कारण अहिले रेडियो जर्जर अवस्थामा पुगेका छन्”, देउराली मावि बर्दिवासका प्रधानाध्यापक केदारबहादुर कोइरालाले भने, समाजको अग्रगामी परिवर्तनका लागि रेडियोेलाई बचाउनका लागि आवश्यक बजेट छुट्यानुपर्छ ।” सामाजिक विकृति र विसङ्गतिको न्यूनीकरणका लागि रेडियोमार्फत जनचेतनामूलक सन्देशहरु सम्प्रेषण गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्रहरीको शव राप्ती खोलामा फेला

महोत्तरीस्थित रेडियो रुपान्तरण गौशालाकी सञ्चालिका सुनिता कुमारीले भने, “समुदाय रुपान्तरणका लागि देशमा सञ्चालित अधिकांश रेडियोको अवस्था दयनीय छ। रेडियो सञ्चालनका लागि सरकार गम्भीर हुनुपर्छ।”