अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुल्यो

पोखरा। अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुलेको छ। एक महिनाअघि बेसक्याम्पको हिंकु केभ र देउरालीचिको भागमा हिमपहिरो खसेपछि बन्द भएको पदमार्ग ३ दिन अघि मङ्गलबार खुलेको पर्यटन व्यवसायीहरुले बताएका छन्।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङका अनुसार गएको २७ गतेदेखि अन्नपूर्ण पदमार्ग माथि पदयात्री र पदमार्गीहरुमाथि लगाइएको बन्देज खुलाइएको हो। ‘माघको २७ गतेदेखि अन्नपूर्ण बेसक्याम्पमा पदयात्रीहरुको लागि लगाइएको बन्देज खुला गरिएको छ,’ उनले भने, ‘हिमपहिरोमा परेर ७ जना हराएपछि अनिश्चितकालका लागि बेसक्याम्प बन्द गरिएको थियो। ३ अघिदेखि खुलेको छ।’

अध्यक्ष गुरुङले ढुक्क भएर पदमार्गीहरुलाई पदयात्रामा आउनसमेत आग्रह गरेका छन्। एक महिना अघि बेसक्याम्पमा हिम पहिरो जाँदा ४ कोरियाली र ३ जना नेपाली हराएका थिए। हिमपहिरोमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन्। हराएका सात जनालाई उद्धार गर्नका लागि आफूहरुले पनि सक्दो पहल गरि रहेको उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  घुस दिन खोज्ने ट्रक चालक पक्राउ

पदमार्गीहरुलाई स्थानीयहरुसँग मौसमअवस्थाबारे बुझेर मात्रै पदयात्रामा निस्किन आग्रह गरिएको छ।

हिमपहिरो गएको ठाउँमा खोला रहेकाले पनि खतरा रहेको छ। अहिले हिमपहिरो गएको ठाउँमा पुल निर्माण गर्न सके दुर्घटनाको जोखिम अलि कम हुने उनको अनुमान छ। हराएका सात जनाको उद्धार कार्यमा बाक्लो हिउँ जमेको हुनाले पनि उद्धारमा समस्या आएको हो।