राष्ट्रियसभा सदस्य उपाध्यायको निधन, प्रधानमन्त्रीको सम्वोधन रोक्न काँग्रेसको माग

काठमाडौं। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्वोधन रोक्न माग गरेको छ। कांग्रेस सचेतक पुष्पा भुसाल शोकका कारण सदन स्थगित गर्न माग गर्दै संसद सचिवालयमा पुगेकी छन्।

आज प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे जानकारी गराउने कार्यसूची रहेको छ ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  जसपाको बाबुराम—उपेन्द्र पक्षीय बैठक बोलाइयो

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए।

लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन्। उनको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताए।