विदेश छाडेर तरकारी खेतीमा

दैलेख। खोलाछेउको बस्ती, नजिकै तरकारी फार्म। लटरम्म तरकारी। मेहनत पनि कम छैन। मातृभूमिमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले पाँच वर्षअघि विसं २०७२ मा ‘उन्नति एग्रो फार्म’ तरकारी फार्म खोले। आफ्नै गतिमा बगिरहेको लोहोरेखोलाको छेवैमा रहेको सिस्नेधारमा पहिलोपटक रु १५ लाख लगानी गरी टनेल हाउस निर्माण गरे।

चौध वर्ष विदेश बसेर स्वदेशमै केही गर्ने अठोटका साथ लागेका गोदारको व्यवसाय शुरु गरेको शुरुआतीमै बनाएको ‘टनेल हाउस’ हुरीले उडायो। उनको व्यावसायिक तरकारी खेती गर्ने सोचमा एकाएक ढुङ्गा लागेजस्तै भयो। पुनः नौ वटा दिगो ‘टनेल हाउस’ निर्माण गरे। उनलाई फार्मका अध्यक्ष रहेका छविलाल गौतमले पनि सहयोग गरे। व्यवसाय फस्टाउँदै गयो, दुर्ई वर्षमै राम्रो उत्पादन हुन थाल्यो। फार्मदेखि उत्पादन भएको तरकारी बिक्री गरेर त्यसैमा लगानी थप्ने टेवा पुग्यो।
अहिले गोदार आफ्नै १५ रोपनी र १५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा जमेका छन्। फार्ममा हालसम्म उनले रु ५२ लाख लगानी गरेका छन्।

अन्य सम्बन्धित समाचार:  खोलामा पुरुषको शव भेटियो

जसमा उनले रु १२ लाख ‘रिजन एपलपी’बाट अनुदान लिएका हुन्। अहिले उनी मात्र होइन, उनकी श्रीमती पनि साँझबिहान ‘फार्म’मै रमाइरहेकी छिन्। उनको फार्ममा अहिले एक मौसममा रु १३ लाख र वार्षिक रु २० लाखभन्दा माथि आम्दानी हुन्छ। तीन छोराछोरी, श्रीमती र आफूलगायत पाँच सदस्य रहेका गोदार परिवार त्यसैमा आत्मनिर्भर बनेको छ।

उनकी श्रीमती तरकारी खेती गोडमेल गर्ने, काँटछाँटलगायतका काममा सघाउछन्। सुर्खेत–दैलेख सदरमुकाम जोडिएको सडकखण्डसँगै जोडिएकाले फार्ममा फलेको जैविक तरकारी देख्दा जोकोही पनि मोहित हुन्छन्। उनले गाउँको शोभालाई तरकारी खेतीबाट बदलिदिएका छन्।

“मूल राजमार्गसँग जोडिएकाले न त बजारको नै समस्या छ, फार्ममा सिजनअनुसार फरक–फरक तरकारी उत्पादन हुन्छ”, उन िभन्छन्, “हालसम्म उत्पादित तरकारी बिक्री गर्न बजार कहिल्यै पनि धाउनुपरेको छैन, बजारको निकै सम्भावना छ, यहाँको तरकारी दैलेख सदरमुकाम, स्थानीय बजार, सुर्खेत र पछिल्ला वर्षमा नेपालगञ्जसमेत निर्यात भएको छ, तरकारी आवश्यक भए कोही फोनबाट नै माग गर्छन्, कोही बारीमै खरीद गर्न आउँछन् चिन्ता नै छैन बजारको।”

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीट

गोदारले यति मात्र होइन, गत वर्ष क्षेत्रीयस्तरको कृषि राष्ट्रिय पुरस्कार र यो वर्ष मुख्यमन्त्री कृषि पुरस्कार प्राप्त गर्न सफल भए। हरेक वर्ष फार्मले वार्षिकोत्सव पनि मनाउने गरेको छ। “फार्ममा चार महिना अघिसम्म चार कामदार राखेका थियौँ”, उनले भने, “उनीहरुलाई मासिक रु १५ हजारका दरले तलबभत्ता दिन्थे, उनीहरुले काम गर्न छाडेपछि श्रीमती र आफूले मात्र काम गर्ने गरेका छौँ ।” उनले स्थानीय तहले पनि कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र विदेशिएका युवालाई कृषि क्षेत्रमा लगाई रोजगारीका अवसर सिर्जना गरिनुपर्ने बताए । उनी तरकारीसँगै पशुपालन, भैँसीफार्म शुरु गर्ने योजनामा पनि छन्।