राष्ट्र सेवामा जुट्न प्रधानमन्त्रीको युवालाई आह्वान

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन्। राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको आज आयोजित दीक्षान्त समारोहमा उनले हरेक युवाले कुशल नेतृत्वका लागि क्षमता विकास, नैतिक आचरण र अनुशासनको परिपालनमा रही समाज र राष्ट्रप्रतिको कर्तव्यमा ध्यान केन्द्रित गर्न आवश्यक छ भने।

प्रधानमन्त्री ओलीले भने, “तालिमबाट एकअर्काको भावना, संस्कृति, परम्परा र इतिहास बुझ्ने अवसर प्राप्त भएको छ, अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकताका कार्यक्रम हुन्। युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ।”

राष्ट्रको गौरवको रूपमा रहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई अनुशासित भई शिरोपर गर्नसक्ने युवाको राष्ट्रलाई सधैँ खाँचो रहने बताउदै उनले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गरे।

अन्य सम्बन्धित समाचार:  देउवा र प्रचण्डबीचको वार्ता—समयमै बहुमतीय सरकारको दावी गर्ने

प्रधानमन्त्री ओलीले भने, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा हासिल गर्न सरकार दृढताका साथ क्रियाशील छ, युवाबाट यो सङ्कल्प र साझा आकाँक्षा पूरा गर्न आ–आफनो स्थानबाट सक्रिय र सिर्जनशील ढङ्गले योगदान होस्। युवाले चाहेको खण्डमा जस्तासुकै चुनौतीको सहजै सामना गरेर अघि बढन सक्छन्।”

मुलुकमा उपलब्ध प्राकृतिक सम्पदा तथा दक्ष र सबल जनशक्तिको सही सदुपयोगबाट मात्र राष्ट्र निर्माण हुनसक्छ भन्दै उनले त्यसका लागि सरकारले आफ्ना कामलाई योजनाबद्ध ढङ्गले अघि बढाइरहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त युवाबाट घर परिवारले मात्र होइन, समाज र राष्ट्रले पनि सपना र आशा रहेको बताए।

मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो। यस आर्थिक वर्षमा मात्रै ७६ जिल्लाका २१३ विद्यालयका सात हजार ७०० विद्यार्थी सेवा दलको तालिममा सहभागी भएका थिए।

अन्य सम्बन्धित समाचार:  केपी ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै

पन्ध्रौँ समूहको तालिममा सहभागी ५०९ मध्ये २६१ छात्रा र २४८ छात्र रहेको बताइएको छ। सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमबाट युवालाई अनुशासित, मर्या्दित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त असल र योग्य नागरिक पाउने विश्वास राखिएको छ।