संसदमा आज प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन्। सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिने बताइएको छ।

शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने तय भएको थियो। तर, राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि आजका लागि स्थगित गरिएको थियो।

ओलीले नेतृत्व गरेको वर्तमान सरकारले आजबाट दुई वर्ष पूरा गरेको छ। सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ।