‘नेपाल स्माइल्स’ को प्रथम तस्विर अयोग्य घोषणा

काठमाडौँ।  केही समयअघि फोटो पत्रकार क्लबद्वारा ‘नेपाल स्माइल्स’ शीर्षकमा आयोजना गरिएको फोटो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको तस्बिरलाई अयोग्य घोषणा गरिएको छ।   प्रतियोगितामा सुरज श्रेष्ठको तस्बिरले प्रथम स्थान हासिल गर्न सफल भएको थियो।

एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्कृष्ट घोषणा र पुरस्कार वितरण कार्यक्रम पनि राखिएको थियो। अयोग्य ठहर गरिएसँगै विजेताले प्राप्त गरेको ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार पनि क्लबले फिर्ता लिने निर्णय गर्दै नियम विपरीतको तस्बिर समावेश गरेका श्रेष्ठलाई नेपाल फोटो प्रतियोगिताको आगामी ३ संस्करणसम्म सहभागिता जनाउन नपाउने निर्णय पनि गरेको छ।

प्रतियोगिता नियमको बुँदा नम्बर १४ मा ‘भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बिरको फ्रेमभित्र कुनै विशेष कुरा थप्न वा हटाउन प्रतिबन्ध गरिएको उल्लेख’ भए पनि उक्त फोटोमा ती कुरा लागू भएकाले फोटो पत्रकार क्लबको केन्द्रीय समितिले उक्त तस्बिरलाई अयोग्य घोषणा गरेको बताइएको छ।

यसका साथै नेपाल फोटो प्रतियोगिता २०७६ को नेपाल स्माइल्स विधाको विजेतामा संशोधन गरिएको पनि आयोजक टिमले जानकारी गराएको छ।

उक्त विधामा नेपाल फोटो प्रतियोगिता २०७६ का निर्णायकहरूले छनोट गरी दोस्रो भएका सुलभभक्त श्रेष्ठ, तेस्रो भएका नभेष चित्रकार र चौथो भएका सुशीलकुमार श्रेष्ठको फोटोलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको छ।