खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा

भक्तपुर। सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ।

क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन

कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिए। क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उहाँले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड र उद्धार उडान सञ्चालन गर्न सकिने

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पु¥याउँदै छ दिनभित्र सम्पूर्ण तयारी पूरा गरेको उनले बताए। क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ। ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।