तीन गोही मृत अवस्थामा भेटिए, सात जालमा

चितवन। राप्ती र नारायणी नदीमा गएको वर्ष छाडिएका तीन वटा गोही मरेको अवस्थामा भेटिएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुई वटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो।ती गोही मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अङ्ग पठाइएको छ।  मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ।

यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो। संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र स्याटलाइट मात्रै फेला परेको थियो। त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो। यी दुवै गोही स्याटलाइट जडान गरी छाडिएका हुन्। मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ।

राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन्। ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आइतबारबाट नै थालिने निकुञ्जले जनाएको छ। मुखमा जाल बेरिएको अवस्थामा गोही फेला परेका हुन्। अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन

ती दुई नदीमा भाले गोही नभएपछि बबईबाट एउटा भाले गोही ल्याइएको थियो। अनुगमनका क्रममा बबईबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उहाँले जानकारी दिए। यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ।

निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर १२ वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो। तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो।

अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए। निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ। नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा अहिलेसम्म एक हजार चार सय ५५ वटा गोही छाडिसकिएको छ। तीमध्ये राप्तीमा मात्र सात सय ८५ गोही छाडिएको छ।

अन्य सम्बन्धित समाचार:  निल गाई मारेको अभियोगमा एक जना पक्राउ

निकुञ्जका अनुसार नारायणी नदीमा तीन सय ९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा एक सय १० वटा गोही छोडिसकिएको छ।

पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ। यस वर्ष यसै महिनाबाट प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ। नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय १ गोही रहेका छन्।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो। नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ। हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ।