नेकपाको प्रदेश स्तरीय कार्यकर्ता भेला सुरु

काठमाडौँ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश स्तरीय कार्यकर्ता भेला आइतबारदेखि सुरू भएको छ।

प्रदेश पाँच स्तरीय कार्यकर्ता भेलालाई प्रशिक्षण दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू बाँकेको कोहलपुर गएका छन्।

भेलालाई प्रचण्डका साथै सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।

चैतदेखि सुरू हुने तीन महिने अभियानको तयारीका लागि सातै प्रदेशमा कार्यकर्ता भेला गर्न लागिएको रिजालले बताए।
कोहलपुरबाट सुरू भएको भेला फागुन २१ गते प्रदेश १ को प्रशिक्षण भएपछि सकिनेछ।

सातै प्रदेशका भेलालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहे पनि पहिलो दिनकै कार्यक्रममा ओली गएका छैनन्। प्रधानमन्त्री ओली आज झापा गएका छन्।