‘म यस्तो गीत गाउँछु २’ लाई चोरीको आरोप

काठमाडौँ। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चोरीको आरोप लागेको छ। चलचित्रको ट्रेलर केही दिन अघि सार्वजनिक भएको थियो। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ।

चलचित्र एक म्युजिकल लभ स्टोरी रहेको र यसको कथा बस्तु बलिउड चलचित्र ‘आशिकी २’ सँग मेल खाने भन्दै यसको टिका टिप्पणी भइरहेको छ।  युट्युबमा सार्वजनिक ट्रेलरमा समेत चलचित्र ‘आशिकी २’को कपी भएको कमेन्ट आएको छ।

‘म यस्तो गीत गाउँछु २’ को कथाको प्लट हेर्दा ‘आशिकी २’ सँग मिल्दोजुल्दो देखिन्छ। तर, ‘म यस्तो गीत गाउँछु २’ का लेखक शिवम अधिकारीले म्यूजिकल लभस्टोरी भएका कारण ‘आशिकी २’ फ्लेभर लागेको हुनसक्ने बताएका छन्।  उनले फेसबुकमा स्टाटस लेख्दै ‘आशिकी २’ बाट कथा चोरिएको प्रमाणित भए आफू नेपाली फिल्मबाटै सन्यास लिने पनि घोषणा गरेका छन्।

यस विषयमा बोल्दै चलचित्रका निर्देशक सुदर्शन थापा भने चलचित्र कतैबाट कपी नगरिएको दाबी गरेका छन्। उनलाई साथ दिँदै अभिनेत्री पूजा शर्माले पनि चलचित्र कतैबाट पनि कपी नगरिएको र करोडौँ खर्च गरेर निर्माण गरिएको चलचित्र निर्माण गर्दा त्यति कुरा राम्रो सँग ख्याल गरिने भनेकी छिन्।

उनले सुदर्शनको फेसबुक स्टाटस सेयर गर्दै ’म्युजिकल फिल्म सबैलाई ‘आशिकी २’ भनेर चर्चा गर्नु वा भिएफएक्सले भरिएका सिनेमालाई बाहुबली’ जस्तै भनेर परिभाषित गर्नु हतारो मात्र होला’ भनेकी छिन्।