प्रधानमन्त्रीले भने, रोगले च्यापे पनि जनताको लागि थाक्ने छैन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको उद्घोष र वाचा पूरा गर्न आफ्नो स्वास्थ्यले नरोक्ने बताएका छन्। झापाको दमकदेखि पाँचथरको रवि जोड्ने दमक–चिसोपानी–रवि सडक कालोपत्रेको आइतबार शिलन्यास पछि उनले रोगले च्यापे पनि नथाक्ने बताएका हुन्। उनले भने, ‘बरु शरीरभित्रै तार र ब्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्नेछु।’

स्वास्थ्यका विषयमा बोल्दा केहीबेर भावुक बनेका प्रधानमन्त्री ओलीले आफू पटकपटक शरीर चिरेर पनि बाँचेको बताउँदै भने, ‘अब स्वास्थ्यकै कारण ओलीले भनेका कुरा पूरा नहोला कि भन्ने शङ्का नगर्नुस्, भनेको कुरा पुर्‍याउँछु।’ पञ्चायत, तानाशाह, राजतन्त्र लगायतका शक्तिसँगै अनेक रोगसँग समेत एकसाथ लड्दै आए पनि आफू नथाकेको र लड्नु पर्ने क्रम अझै नरोकिएको उनको भनाइ छ। केही शक्तिले फर्कीफर्की झम्टन खोजे पनि अब सफल हुन नदिने उनले दाबी गरे। सरकारले सुरु गरेको विकास र समृद्धिको काम देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्ति चलखेल गर्न थालेको उनले बताए। उनले त्यस्ता चलखेल विरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहने प्रतिवद्धता दोहोर्‍याए।

अन्य सम्बन्धित समाचार:  घरबाहिर निस्कनेलाई कानूनी कारवाही हुने, मास्क नलगाए सय रुपैयाँ 

सुकुम्बासी समस्याका विषयमा बोल्दै उनले कोही नागरिक सुकुम्बासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिनेमा जोड दिए। सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृत्तिविरुद्ध पहिलोपटक सरकारले कदम चालेको भन्दै उनले यसमा संलग्न कसैले पनि छुट नपाउने बताएका हुन्। यसअघि कुनै पनि सरकारले सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण गर्नेविरुद्ध कारबाही गर्न नसकेको र पहिलोपटक आफ्नो सरकारले काम थालेको दाबी गरे। सो क्रममा उनले आफ्नो सरकारले गरेका कामका केही उदाहरण दिँदै विस्तृत विवरण संसद्‍मार्फत सार्वजनिक भइसकेको पनि बताए।

भुटानी शरणार्थी शिविर नजिकै दमक २ मा भएको सभामा ओलीले भुटानी शरणार्थीको पनि सम्झना गरे। उनले भुटानबाट लखेटिएर करिब तीन दशकअघि नेपाल आएको क्षणदेखि नै आफूले शरणार्थीको जीवनलाई नियालेको भन्दै आफ्नै पहलमा तेस्रो देश पुनस्थापना प्रक्रिया थालेको पनि बताए। तेस्रो देश पुनस्थापना प्रकृयालाई कतिपयले आलोचना गरे पनि आफूले अमेरिकामा नेपालबाट पुनस्थापना भएर पुगेको शरणार्थीलाई भेटेको र त्यहाँ उनीहरू सुखी र खुसी पाएको पनि बताए।

अन्य सम्बन्धित समाचार:  सबै सांसदको पीसीआर परीक्षण गरिने

‘पहाड र तराई नजिकियो’ कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले दमक–चिसोपानी–रवि कालोपत्रे निर्माणले पहाड र तराईलाई नजिक पार्ने बताए। सडक निर्माणपछि पहाडका नागरिकले आर्थिक विकास र समृद्धिको अनूभूतिसमेत गर्न पाउने भन्दै उनले अब देशले विकासको फड्को मार्न थालेको बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईलगायतले सडकको महत्वका बारेमा बोलेका थिए। सडक तीन प्याकेजमा निर्माण हुने र तीन वर्षमा पूरा हुने मन्त्रालयका सचिव कार्कीले बताए।