महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ। आइतबार अन्तिम समयमा रोकिएको पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दाको फैसला आज सोमबार आउँदैछ।

महराका पक्षका आठ जना वकिलले आइतबार बहस सकेर फैसला सुनाउने तयारी गरे पनि काठमाडौँ जिल्ला आदलतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले फैसला तयार भइनसकेको भन्दै सारेका थिए। स्रोतका अनुसार फैसला तयार भए पनि आइतबार न्यायाधीश पौडेलले सुनाउने मिति एकाएक सारेका हुन्।

फैसला तयार भएर सुनाउने क्रममा रहेका न्यायाधीश पौडेल इजलासबाट उठेर चेम्बर छिरेर लगत्तै फर्किएपछि ‘आज सकिएन भोली फैसला आउँछ’ भन्ने निर्णय सुनाएका थिए।

इजलास बाहिर प्रफुल्लित मुद्रामा रहेका प्रतिवादी महरा भने फैसला सोमबार सुनाउने भन्ने न्यायाधीशको निर्णय सुनेर निराश भएका थिए।

अन्य सम्बन्धित समाचार:  अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड र उद्धार उडान सञ्चालन गर्न सकिने

आइतबार महराका पक्षबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनालीलगायतले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट गत माघ २६ गते नै चारजना सरकारी वकिलले बहस सकेका थिए।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ। उनी सम्बद्ध वकिलहरुका अनुसार महराविरुद्धको मुद्दाको कानुनी आधार कमजोर छ।

अन्य सम्बन्धित समाचार:  छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा

महरा निर्दोष ठहरेमा उनी सोमबार नै १३४ दिनपछि घर फर्किनेछन्। तर दोषी ठहर भएको अवस्थामा उनको कारागार बसाइ लम्बिन सक्छ।