‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘आफ्नो पार्टी जिताइदे’

काठमाडौँ। प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक भएको छ। आइतबार ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत सार्वजनिक भएको हो। गायक प्रमोद खरेल र विद्या मन्जु तिवारीको आवाजमा रहेको यस गीतमा सुशान्त गौतमको सङ्गीत रहेको छ।

फगुन ९ गते शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको यस फिल्मको गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतमा फिल्मको केही महत्त्वपूर्ण दृश्य पनि समेटिएको छ।
गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका हुन्। गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टी बिच भएको झगडा देखाउन खोजिएको छ।

शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), सन्दिप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ।

रामबाबु गुरुङको निर्देशन रहेको यस फिल्मको आम्दानी मध्येको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा निर्माण युनिटले केही समय अगाडि गरेको छ।