काठमाडौँ उपत्यकाको विद्युतिय तारलाई भूमिगत बनाउने काम सुरु

काठमाडौँ।  नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युतिय तारलाई भूमिगत बनाउने काम सुरु गरेको छ। पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्जस्थित प्रहरी तालिम केनद्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन्।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ। २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने छ। साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना

बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो। २०२१ को अक्टोबरभित्रमा सक्ने लक्ष्य राखिएको छ।