सरकारले पत्रकारिता क्षेत्रमा अङ्कुश लगाउन खोज्यो : कमल थापा

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउन खोजिएको आरोप लगाएका छन्।

राप्रपा निकट पत्रकारहरूको सङ्गठन मिडिया नेपालको केन्द्रिय कार्य समिति बैठक तथा गण्डकी प्रदेश घोषणा सभालाई सम्बोधन गर्दै  थापाले सरकारले केही समय अघि संसद्‌मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधिसँग सम्बन्धीत विधेयकहरू मार्फत पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको आरोप लगाएका हुन्।

सञ्चारमाध्यमले देशमा लोकतन्त्रको स्थापना गर्न होस या देशको आर्थिक क्रान्तिका विषयमा सञ्चार क्षेत्रले खेलेको भूमिकालाई दृष्टिगत गर्दै यसलाई नियन्त्रित गर्नुभन्दा पनि अझ स्वतन्त्र र स्वाभिमानी ढगंबाट अघि बढ्ने वातावरण बनाउनु पर्ने उनको भनाई छ। उनले श्रमजीवी पत्रकारहरूले अझैपनि ठूला समस्याको सामना गर्नु परेको बताउँदै आफ्नो वृद्धि विकास या पेशाको सुरक्षाको पूर्ण अनुभूति गर्न नपाएको अवस्थामा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

अन्य सम्बन्धित समाचार:  पक्राउ गरिएका नेताकार्यकर्ता रिहा गर्न गृहको निर्देशन

मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त बैठकले सूर्य बास्तोलाको संयोजकत्वमा गण्डकी प्रदेशको प्रदेश कार्यसमिति घोषणा गरेको छ।