चौथो इन्द्रदह पर्यटन उत्सव हुने

काठमाडौं। धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ। इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो।

पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न पर्यटन उत्सव गर्न लागेको जानकारी दिए।

धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको उक्त स्थलमा उत्सवको तयारीसँगै आज सरसफाइसमेत गरिएको छ। वडा अध्यक्ष राजेन्द्र केसीले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उत्सव आयोजना गरिएको बताए।

उत्सवसँगै नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा थप सहयोग पुग्ने उनको भनाइ थियो। सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्रदह र काजी कालु पाण्डेको समाधिस्थल रहेको छ।  उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ। उत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।