राष्ट्रपतिबाट मन्त्री तुम्बाहाङ्फेलाई शपथ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराईन्। राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिईन्।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा आजै नियुक्त गरिन्। यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए।

डा तुम्वाहाङ्फे यसअघि उपसभामुख थिईन्। सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिईन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वा्चित सांसद हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित थिए। मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो।

अन्य सम्बन्धित समाचार:  उपेन्द्र समुहले पदमुक्त गराएका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवं पुनःगठन हो।