पूर्वसांसद ज्ञवालीको निधन

काठमाडौँ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको मङ्गलबार निधन भएको छ।

ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए, र दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उपचार गराउँदै आएका थिए।

वि. सं २००१ साल कात्तिक १ गते जन्मेका उनी वि. सं २०४८ को आम चुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।
उनको निधनप्रति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘नेपाली काङ्ग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान् अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखीt र स्तब्ध बनाएको छ। स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनहरू तथा नेपाली काङ्ग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु। साथै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’ भनेका छन्।

अन्य सम्बन्धित समाचार:  महन्थको विज्ञप्तिः जसपाको कुनै बैठक बाेलाइएको छैन