दोलखामा विद्यालय निर्माण गर्न ‘नेपथ्य’ साँझ

काठमाडौँ। साँगीतिक ब्यान्ड ‘नेपथ्य’ ले यही फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गर्ने भएको छ। त्यस कन्सर्टबाट उठेको सम्पूर्ण रकमले दोलखामा एउटा विद्यालय बनाइदिने भएको छ।

‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर गर्न लागेको यस कन्सर्टबाट उठेको रकम दोलखाको भीमेश्वर नगरपालिका स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि रकम खर्च गर्ने बताइएको छ।

विनाशकारी भूकम्पका बेला नेपथ्य ब्यान्डले प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशमा आयोजित कन्सर्टबाट उठेको झन्डै चालीस लाख रुपैयाँको योगदान दिएको थियो।

‘नेपथ्य’ ले आफूलाई मनोरञ्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको ब्यान्डका मुख्य गायक अमृत गुरुङको भनाइ रहेको छ।