‘खोलामा पुल छैन्, छोरानाति मर्याका छन्, खै कसले बुझन्या हाम्रा पीडा? (फोटो फिचर)

रिदम सिंह, बझाङ।

प्रजातन्त्र मात्र हैन देशले लोकत्रन्त नै पाईसक्दापनि समृद्धि आउन सकेन्। सरकार परिबर्तन भयो, नयाँ युगको थालनी भयो, भाषणमा समृद्धिको कोरा कल्पनामा डुबुल्की मारिरहेका छन्।

तर बझाङका ग्रामिण क्षेत्रका स्थानियले भने अझै प्रजातन्त्र ‘न’ लोकत्रन्तको आभास गर्न पाएका छन्। बझाङको साइपाल गाउँपालिकाका बासिन्दालाई भने ज्यानमारा खोलामा एउटा झोलुङ्गे पुल मात्रै बनाइदिए दुखका दिन सकिने आशा छ ।  ‘थरुनी खोलामा बगेर ज्यान गुमाउन नपरे लोकतन्त्रको आभाष हुने थियो, ज्यानमारा खोलामा पुल त बनाई देउ।’ स्थानीयको दुखेसो छ।

खोलामा पुल नहुदाँ ज्यान जोखिममाः
साईपाल गाउपालिकाका बिभिन्न खोला तर्न पुल छैन्। धेरैले ज्यान गुमाई सकेका छन्। २०७४ साल असार २२ गते माइती आएकी साइपाल गाँउपालिका–२ घर भएकी सिर्जना बोहरालाई घरसम्म छोड्नका लागि गएका भाइ लोकेन्द्र बोहरा र छिमेकी भाइ १७ वर्षीया धिरेन्द्र बोहरा र १० वर्षीया उज्ज्वल बोहरा घर फर्कने क्रममा थरुनी खोलामा बगे। साइपाल गाँउपालिका–२ कै कक्षा १० मा अध्ययनरत धिरेन्द्र र  कक्षा ८ मा पढ्ने उज्ज्वल र लोकेन्द्र बोहरा बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको थियो।

यस्तै २०७१ साल असारको अन्तिम सातामा यार्सागुम्बा संकलन गरेर घर फर्कने क्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलासका ३ जना पनि त्यही थरुनी खोलामा बगेर बेपत्ता भएका थिए। जसमा २९ वर्षीय सुवन सिंह , २८ वर्षीय महेश सिंह र ४२ वर्षीय सुन्त शाही रहेका थिए।

त्यसपछि उनीहरु महिना दिनसम्म नभेटिएको स्थानीय भुवन सिंहले बताए। स्थानीयहरु ज्यानको बाजी लगाएर खोला तर्छन्। त्यतिमात्र हैन २०७५ साल वैशाख ९ गते राम खोलाले बगाएर साइपाल गाँउपालिकाका २१ वर्षीय भिक्कु बोहराले समेत ज्यान गुमाएका थिए।

बर्खाको समयमा खोला तर्न नसकेका कारण एक वर्ष पहिला साइपाल गाँउपालिका वडा नम्बर ५ कि महिला स्वास्थ्य स्वयंसेविका बाटु बोहराले समेत ज्यान गुमाउनु परेको स्थानीय महिला स्वास्थ्य स्वयम् सेविका दिपा बोहराले बताइन्। उनका अनुसार बाटुलाई घरमा सुत्केरी हुन गाह्रो भएपछि जिल्ला अस्पताल लगियो। लैजाँदै गर्दा बाटोमा पर्ने थरुनी खोला तर्ने क्रममा बच्चा र आमाको ज्यान गएको थियो।

अन्य सम्बन्धित समाचार:  वरिष्ठ डाक्टर आईएल आचार्यको निधन

यस्तै धुलीकी कन्थु देवी बोहोरा उर्लदो खोला तर्न नसकेर लामो समय घरमै रोग लुकाएर बस्दा ढिलो उपचार भएकै कारण मर्न विवश भईन्।

यता जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा भने पाँच वर्ष यता यहाँका खोलाहरुमा परेर ७ जनाको ज्यान गएको उल्लेख छ। प्रहरी निरीक्षक जनक धामीका अनुसार साइपाल गाँउपालिका विकट क्षेत्र भएका कारण पनि घटनाहरु सबै जानकारीमा नआउने बताए। यहाँका स्थानीय बासिन्दाको आवतजावत गर्ने मुख्य बाटोमै पर्छन् थरुनी र राम खोला तर यी खोलामाथि पुल नभएका कारण बर्खाको समयमा अप्रिय घटना घट्ने गरेका छन्। तर पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासी बताउछन्।

बझाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले चुनावको समयमा आफ्नो प्रमुख एजेन्डा नै चैनपुर ताक्लाकोट सडक खण्ड र यहाँका खोला नालामा झोलुङ्गे पुल निर्माण गर्ने थियो। तर चुनाव जितेर गएपछि उनीहरु फर्केर एकदिन पनि गाउँमा नआएको स्थानीय वासीहरुको गुनासो छ।

साइपाल हिमाल चढ्ने पर्यटकहरुका लागि र सदरमुकाम तथा अन्य ठाँउ आवतजावत गर्ने मुख्य नाका नै यहि थरुनी खोला हो। यतिमात्र नभएर त्यहाँका स्थानीयहरुले घाँसदाउरा देखि मेलापात गर्ने प्रमुख बाटोमा पर्छ यो खोला। बुढापाका र बालबालिकालाई त हिउँद बर्खा बाह्रै महिना यहाँ यात्रा गर्न चुनौतीपूर्ण हुन्छ। यहाँका स्थानीयहरुले प्रयोग गर्ने राम खोला र थरुनी खोलामा झोलुङ्गे पुल नहुँदा आफूहरुले निकै नै दुःख खेप्नुपरेको स्थानीय लक्ष्मीदेवी बुढा बताउछन्।

यी दुइटै खोलामा झोलुङ्गे पुलको अति आवश्यकता भए पनि गाँउपालिकाको बजेट मात्रले नपुग्दा पुल निर्माण गर्न नसकेको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर काम गर्नको लागि आफूसँग पहुँच नभएका कारण प्रदेश र केन्द्रीय सरकारले कुनै चाँसो नदेखाएको उनले आरोप लगाए। साइपाल गाउँपालिकाको जनसंख्या झण्डै साढे चार हजार जति छ। सामान्य मानिसलाई सदरमुकाम चैनपुरबाट हिँडेर साइपाल गाँउपालिकासम्म पुग्न तीन दिन लाग्छ। सामान ढुवानी गर्न पनि निकै नै समस्या छ। सडक सञ्जालसँग गाँउपालिका जोडिएको छैन। बाटो पनि निकै अप्ठ्यारो छ।

अन्य सम्बन्धित समाचार:  रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै

खाद्यन्न समयमा पुग्दैन साइपालमाः
साइपाल गाँउपालिकामा केही दिन अघी मात्र सरकारले खाद्यन्न ढुवानी गरेको छ। करिव २५ क्विन्टल २० केजी नेपाली सेनाको हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको थियो । त्यसअघी साइपाल गाँउपालिकामा खाद्यन्न अभाव भएको थियो। जसका कारण साइपाल गाँउपालिकाका स्थानियहरु  कन्दमुल र सिस्नु खाने अवस्थामा पुगेको साइपाल गाँउपालिकाका स्थानिय बसन्त बोहराले बताए। उनी भन्छन् “साइपाला गाँउपालिकाका स्थानियले कहिलेसम्म दैनिकीदेखी स्वाथ्य समस्या भोग्नु पर्ने हो। के हामी साइपाल बासीलाई सौतेली ब्यबहार गरेकै हो त सरकार ?”

खच्चड र भेडामा सामान ढुवानी गर्नुपर्ने भएका कारण विकास निर्माणका काममा निकै चुनौती भए पनि यस विषयमा आफूहरु गम्भीर भएर लागिपरेको गाउँपालिका अध्यक्ष धामीले बताए। पुल निर्माण गर्न सके साइपाल गाउँपालिकामा बल्ल नयाँ युगले प्रवेश पाउने यहाँका स्थानियले आशा गरेका छन्।

“प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गाउँमै सिंहदरबार आयो भन्छन्, तर खै साईपाल गाउपालिकामा त अहिले सम्म पनी न त सिंहदरबार पुग्यो न त नयां युग नै। के यही हो त प्रजातन्त्र भनेको?” देशभर हर्ष उल्लासका साथ ७० औं प्रजातन्त्र दिवस मनाई रहदाँ ,साईपाल गाउपालिकाका स्थानिय सरकार समक्ष प्रश्न गर्छन्।