दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

काठमाडौँ। दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको छ। अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधवार खारेज गरिदिएको हो।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र १ करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो। तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो।

सोलस्थित अदालतमा बुधवार भएको सुनुवाइका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो। आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ।

अन्य सम्बन्धित समाचार:  भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घूस लिएर माफी दिएका थिए।

अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ।