पत्रकार महासंघका महत्वपूर्ण ४ वटा निर्णय

काठमाडौं। सञ्चारगृहभित्र पत्रकारहरुको सम्पादन विभागीय स्वतन्त्रताको सुनिश्चितताको लागि अझ सशक्त आवाज उठाउने नेपाल पत्रकार महासंघले निर्णय गरेको छ। संञ्चारग्रामस्थित महासंघमा बसेको बैठकले पत्रकार असुरक्षित देखिएको भन्दै स्वनियन्त्रणमा रहेका पत्रकारहरुको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसँग जोडदार माग गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरि सञ्चारसम्बन्धी मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकको पछिल्लो अवस्थाका बारेमा समीक्षा गर्दै मिडिया काउन्सिल विधेयकमा महासंघले उठाएका विषयहरू आंशिक सम्वोधन भए पनि काउन्सिलको स्वायत्ततालगायतको विषयमा थप सुधारको आवश्यकता रहेको निष्कर्ष महासंघको आजको बैठकले निकालेको छ।

यसकासाथै सूचना प्रविधिसम्बन्धी विधेयकका सम्बन्धमा महासंघले उठाएका विषयहरु सम्वोधन हुनेगरी दबाब सृजना गर्ने लगायत सञ्चारमाध्यममा प्रकाशित समाचारका सम्बन्धमा चिनियाँ दूतावासले सम्पादक र सञ्चारमाध्यमविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरेकोप्रति महासंघले गम्भीरतापूर्वक लिँदै सरकारको ध्यानाकर्षण गराउने भएको छ। साथै, सञ्चारमाध्यमहरूले समाचार सामग्री संप्रेषण गर्दा आचारसंहिताको पालना गर्न र सम्वेदनशील विषयहरुमा समाचार संप्रेषण गर्दा थप ख्याल पुर्याउन समेत महासंघको आग्रह रहेको छ।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते

यसकासाथै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका सन्दर्भमा महासंघले चलाएको दबाब र अनुगमनलाई थप प्रभावकरी ढंगबाट अघि बढाउने र त्यसका लागि महासंघले सूचना तथा प्रसारण विभागमा श्रमजीवी पत्रकार तथा कर्मचारीको विवरण सबै सञ्चारमाध्यमलाई बुझाउन पुनः आग्रह गर्ने, दरबन्दी यथाशीघ्र बुझाउने वातावरण निर्माण गर्न महासंघले सूचना तथा प्रसारण विभागलाई दबाब दिने भएको छ।

यसका साथै, ठूला संख्यामा पत्रकारहरु प्रेस पास विहीन अवस्थामा भएकाले प्रेस पास नवीकरण सहज बनाउन पहल गर्ने समेत आजको बैठकले निर्णय गरेको महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।