उपत्यकाव्यापी बुद्धिचाल प्रतियोगिताको थालनी

काठमाडौं। श्रमशील विद्यापीठ नेपालद्वारा आयोजित प्रथम श्रमशील उपत्यकाव्यापी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै मेयर थापाले बुद्धिचाल प्रतियोगिताले विद्यार्थीहरुको तार्किक एवंम् बौद्धिक क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने बताए। ‘ बेलाबखत गरिने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ ,यो राम्रो पक्ष हो।’ मेयर थापाको भनाइ थियो।

त्यसैगरि विद्यालयका संस्थापक कमल दाहालले किशोर अवस्थाका बालबालिकाहरुलाई बुझ्न, मनलाई स्थिर बनाउनका साथै ध्यान केन्द्रित गरि जीवनउपयोगि अन्य पक्ष हासिल गर्न समेत चेस खेलले धेरै सहयोग पुग्ने बताए। ‘यो खेलले तार्किक भएर सोच्न सक्ने हुनुको साथै बाधाहरुलाई पन्छाएर आवश्यक सूचनामात्र लिन सक्ने र समस्या समाधान, धैर्यता र आत्मअनुशासनको पालना गर्ने बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।’ दाहालको भनाई थियो।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता

तीन दिनसम्म संञ्चालन हुने प्रतियोगिता अन्तगर्त बिहीवार दुई चरण समाप्तीका खेलमा १९ जनाले २ अंक प्राप्त गर्न सफल भएका छन्। त्यसैगरि ३ जनाले १.५ अंक, ३५ जनाले १ अंक, ५ जनाले ०.५ अंक तथा १७ जना अंकविहिन रहेका छन्।

सात चरण सम्म संञ्चालन हुने प्रतियोगिता फागुन १० गते सम्पन्न हुनेछ। प्रतियोगितामा उपत्यकाभित्रका ३९ विद्यालयका ७९ जना विद्यार्थीहरु सहभागि रहेका छन्। प्रतियोगिता उद्घाटनको अवसरमा विद्यालयका निर्देशक ऋषिकेश भट्टराई र प्रिन्सिपल विजया दाहालले चेस खेलको बारेमा छोटो धारणा व्यक्त गरेका थिए।