दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा ११ देशको सहभागी

काठमाडौँ। दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला यही फागुन १६ देखि २५ गतेसम्म हुने भएको छ। नेपालको विभिन्न सहरमा आयोजना हुन लागेको यस मेलाको मुख्य नारा ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ रहेको आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले जनाएको छ।

मेलाको तयारी सकिएको जानकारी गराउँदै, यस पटकको मेलामा भारत, इस्टोनिया, बङ्गलादेश, मेक्सिको, मलेसिया, डेनमार्क, बुल्गेरिया, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरि ११ देशको सहभागिता रहने पनि जनाएको छ।

नेपाली संस्कृतको उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदानप्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रबर्द्धन गर्नु दशौँ लोकसांस्कृतिक मेलाको मुख्य उद्देश्य रहेको छ।

मेलाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि केही हदसम्म टेवा पुग्ने कुरामा आयोजक विश्वस्त रहेको छ। यसपटकको महोत्सव काठमाडौँ, ललितपुर, पोखराजस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना हुनेछ।